काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन् ।
समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । शुक्रबारसम्म आठ वटा उजुरी प्राप्त भएको समितिले जनाएको छ । उजुरी दिने अन्तिम म्याद कात्तिक १९ गतेसम्म रहेकाले उजुरीको संख्या थप बढ्न सक्नेछ ।
न्याय परिषद्ले गत असोज २० गते उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत छन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । त्यस्तै, डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए ।
समितिले प्राप्त उजुरीमाथि अध्ययन गरेपछि प्रस्तावित चारै जना न्यायाधीशसँग कार्ययोजना प्रस्तुत गर्न लगाउनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया