काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सामाजिक सञ्जालमा एक प्रयोगकर्तालाई दिएको जवाफका कारण विवादमा परेका छन् । आलोचना बढेपछि उनले आफ्नो अभिव्यक्तिको आशय स्पष्ट पार्दै त्यसको गलत अर्थ लगाइएको बताएका छन् ।

बिचौलियाको आरोप लागेका इनम सापकोटाबारे पुनले फेसबुकमा लेखेको पोस्टमा दुर्गा कार्की नामका प्रयोगकर्ताले टिप्पणी गर्दै उनलाई बाहिरबाट सोझो देखिए पनि भित्रभित्रै छुरा बोकेर हिँड्ने व्यक्तिका रूपमा चित्रण गरेका थिए ।

उक्त टिप्पणीको जवाफमा पुनले ‘यता आउ, छुरा हेर्ने भए भित्रको’ भन्दै प्रतिक्रिया दिएका थिए । उनको यही जवाफलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टीकरण दिएका हुन् ।

पुनले आफूले वास्तविक फलामको छुरा बोकेको अर्थमा उक्त अभिव्यक्ति नदिएको बताएका छन् । उनका अनुसार ‘भित्रको छुरा’ भन्नाले मानिसको मनमा लुकेको कपटी र खराब प्रवृत्तिलाई सङ्केत गरिएको हो ।

उनले प्रयोगकर्ताले आफूलाई कपटी मन भएको आरोप लगाएको भन्दै आफ्नो मनमा त्यस्तो प्रवृत्ति छ कि छैन भन्ने बुझ्न प्रत्यक्ष संवाद गर्न आउन आग्रह गरेको बताएका छन् ।

‘भित्रभित्रै बोकेको खतरनाक छुरा भनेको मानिसको कपटी र पापी मन हो,’ पुनले स्पष्टीकरणमा लेखेका छन्, ‘मेरो मन कपटी छ कि छैन भनेर हेर्न आउ र मैले नढाँटीकन विस्तारपूर्वक बताएर तिम्रो चित्त बुझाउने प्रयास गर्नेछु भन्न खोजेको हुँ ।’

आफूले सोझो अर्थमा जवाफ दिएको दाबी गर्दै पुनले आफ्नो अभिव्यक्तिको अनर्थ लगाइएको बताएका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com