काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै कर्मचारीतन्त्रमा भय र त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाएका छन् । उनले सरकारका गतिविधि र देशका समसामयिक समस्याबारे छलफल गर्न तत्काल संसद् बैठक बोलाउन माग गरेका छन् ।

मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्‍याउने गरिएको दाबी गरे । प्रधानमन्त्री कार्यालय नै यातना गृहजस्तो बनेको अनुभूति हुन थालेको उनको भनाइ थियो ।

विपक्षी दलहरूको संयुक्त बैठक र कांग्रेस संसदीय दलको निर्णय सभामुखलाई जानकारी गराउन पुगेका उनले संसद् बाहिर उठिरहेका संवेदनशील विषयको निकास संसद्भित्रै खोज्नुपर्ने बताए ।

प्रेसमाथिको हस्तक्षेप, न्यायालयमा देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली र प्रधानमन्त्रीसमेत जोडिएका विषयमा संसद्मा खुला छलफल आवश्यक रहेको उनले उल्लेख गरे । देशमा गम्भीर समस्या बढिरहेका बेला संसद्लाई लामो समयसम्म निष्क्रिय राख्न नहुने उनको धारणा थियो ।

सरकारले संसद्को आवश्यकता महसुस भइरहेका बेला अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आङ्देम्बेले यस्तो प्रवृत्ति लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए ।

उनले भोटेकोशी र रसुवाका बाढीपहिरो पीडितलाई राज्यले बिर्सिएको गुनासोसमेत गरे । विपद्पछि ठूलो सहयोग जुटे पनि त्यसको सदुपयोगबारे स्पष्ट जानकारी नभएको र पीडितलाई घरभाडाबापत दिने भनिएको १५ हजार रुपैयाँसमेत उपलब्ध नगराइएको उनको दाबी थियो ।

बजारमा महँगी बढेको, बिचौलियाको प्रभाव विस्तार भएको र सर्वसाधारणले विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै उनले जनसरोकारका विषयमा संसद् मौन बस्न नसक्ने बताए ।

आङ्देम्बेका अनुसार विपक्षी दलहरूले उठाएका विषय र आफ्ना निर्णयबारे सभामुखलाई औपचारिक जानकारी गराउँदै यथाशीघ्र संसद् बैठक आह्वानका लागि पहल गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com