काठमाडौँ । डेडिकेटेड क्रिकेट रङ्गशाला निर्माण गर्ने विषयमा छलफल गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई मन्त्रालयमा बोलाएका छन् ।
मन्त्री पाेखरेलले भोलि दिउँसो ३ बजे छलफलका लागि आठवटै फ्रेन्चाइजका मालिकलाई मन्त्रालयमा उपस्थित हुन निम्त्याएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलका आठवटै फ्रेन्चाइजका लागि छुट्टाछुट्टै फ्लडलाइटयुक्त क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको केही दिनमै खेलकुद मन्त्रालयले यस विषयमा छलफल अघि बढाउन लागेको हो ।
प्रधानमन्त्री शाहले गत शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै टोलीका लागि आफ्नै घरेलु मैदानसहितका रङ्गशाला निर्माण गरिने बताएका थिए ।
प्रधानमन्त्रीको घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।
त्यस्तै, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रङ्गशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्रीका अनुसार फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने बाँकी रङ्गशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाइनेछ । यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने उनको भनाइ छ ।
रङ्गशाला निर्माण सम्पन्न भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने र नेपाली क्रिकेटलाई काठमाडौँ केन्द्रित अवस्थाबाट देशका विभिन्न सहरमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया