काठमाडौं । जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले संविधान संशोधन, संवैधानिक राजसंस्था पुनःस्थापना र प्रदेश संरचनाबारे जनमत संग्रह गर्नुपर्ने मागसहित आठबुँदे संकल्प सार्वजनिक गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको स्थापनादेखि प्रदेश संरचनाको भविष्य जनमत संग्रहबाट टुंग्याउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार बनाउन नसकेको आरोप लगाए। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, सुरक्षाकर्मी तथा अन्य नागरिकलाई न्याय दिन नसकेको र सरकारी संरचनामा आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन नसकेको उनको भनाइ छ।
राणाले भोटेकोशी–त्रिशूली बाढीका क्रममा प्राप्त राहत सामग्री तथा रकम र प्रधानमन्त्री विपद् राहत कोषमा संकलित सहयोगको अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारसँग माग गरे। पुनर्स्थापना तथा पुनर्निर्माणको प्रगतिबारे पनि जानकारी गराउन उनले आग्रह गरे।
उनका अनुसार बजारमा महँगी बढेको, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता नभएको र सञ्चारकर्मीलगायत नागरिकलाई पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया पालना नभएको विषयले जनजीवन र लोकतान्त्रिक मूल्यमा असर पारेको छ।
राणाले सार्वजनिक गरेका आठ संकल्पमा संविधान संशोधन, महँगी नियन्त्रण, संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापना, धर्मान्तरण तथा गौहत्यामा प्रतिबन्ध, युवा र महिलामैत्री आर्थिक विकास, सहकारी तथा लघुवित्तपीडितलाई न्याय, अधिकारसम्पन्न स्थानीय निकाय र प्रदेश संरचनाबारे जनमत संग्रहका विषय समेटिएका छन्।
त्यस्तै, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँका लागि नेपाली’ भन्ने मान्यता स्थापित गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
राणाले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्। उनले देश तथा विदेशमा रहेका नेपालीलाई संकल्पबारे समर्थन र सुझाव दिनसमेत आह्वान गरेका छन्।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया