काठमाडौं । सरकारले पत्रकारहरूलाई धरपकड गर्ने कुनै नीति नरहेको दाबी गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकारहरूलाई पक्राउ नभई आन्तरिक सूचना चुहावटबारे सोधपुछ मात्रै गरिएको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले पत्रकार पक्राउ गर्न प्रधानमन्त्रीको अनुमति नलिइएको र यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी नभएको बताए।
‘पत्रकारहरू पक्राउ अनुमति लिएर गरेको होइन । पक्राउबारे प्रधानमन्त्रीलाई केही जानकारी थिएन,’ उनले भने, ‘आफ्नो आन्तरिक सूचना चुहावट भएको विषय संवेदनशील हो, त्यसैका लागि प्रहरीले सोधपुछका लागि आफ्नो आन्तरिक काम गरेको हो।’
मन्त्री पोखरेलका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले कुनै पनि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न र हिरासतमा रहेकालाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए।
उनले पत्रकारहरूलाई गिरफ्तार नभई सोधपुछ मात्रै गरिएको दाबी गरे। आवश्यक परे गृह मन्त्रालयले थप कारबाही अघि बढाउने पनि उनको भनाइ छ।
पत्रकार पक्राउ र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको घटनाबारे गैरकानुनी हो कि होइन भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिएनन्। बरु सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जिकिर गरे।
इनम प्रकरण तथा अदालतसँग सम्बन्धित विषय मन्त्रिपरिषद्मा छलफल नभएको उल्लेख गर्दै उनले ती विषय सरकारको क्षेत्राधिकारबाहिर पर्ने बताए।
केही दिनअघि प्रहरीले विश्वमणि सुवेदीसहित तीन पत्रकारलाई पक्राउ गरेको थियो। त्यसपछि नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी प्रवेश गरेको घटनाको पनि आलोचना भएको थियो।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया