काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागिएको भन्ने समाचार भ्रामक रहेको दाबी गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले आईजीपीको राजीनामा मागेको वा कारबाही गर्न निर्देशन दिएको भन्ने कुरा निराधार भएको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले प्रहरी संगठनभित्रको आन्तरिक सूचना चुहावटबारे सामान्य सोधपुछ मात्रै भएको स्पष्ट पारे।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ उनले भने, ‘यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो।’
मन्त्री पोखरेलले पत्रकार वा सञ्चारकर्मीलाई पक्राउ गर्न सरकार वा प्रधानमन्त्रीका तर्फबाट कुनै निर्देशन नदिइएको दाबी गरे।
सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिइएको भए तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले बताए।
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै उद्देश्य नरहेको उल्लेख गर्दै पोखरेलले संविधानले सञ्चारमाध्यमलाई दिएको अधिकारप्रति सरकार प्रतिबद्ध रहेको जिकिर गरे।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया