काठमाडौं । जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचना खारेजी वा निरन्तरताबारे जनमत संग्रह गराउनुपर्ने विषयलाई संविधान संशोधनको प्रमुख प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।

सभापति राणाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार तय गर्न नसकेको दाबी गरेका छन्।

सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहे पनि अस्वाभाविक महँगी बढेको र दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको पार्टीको ठहर छ।

यसैगरी, पार्टीले भोटेकोसी-त्रिशूली नदीका बाढीपीडितका नाममा प्राप्त राहत सामग्री तथा आर्थिक सहयोगको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने यथार्थ विवरणसमेत पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा उल्लेखित आठ बुँदे प्राथमिकतालाई राज्यले समयमै सम्बोधन नगरे आफ्ना माग स्थापित गराउन चरणबद्ध रूपमा शान्तिपूर्ण सडक आन्दोलन सुरु गर्ने सो पार्टीले चेतावनी दिएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com