वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिटमा जित हासिल गर्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ। निर्वाचन परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक दिशामा प्रभाव पार्ने देखिएको छ।

दक्षिण क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरेकी छन्। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्। दुई दशकभन्दा बढी समयपछि यस राज्यमा डेमोक्रेटले सिनेट सिट जितेको हो।

मेन राज्यमा डेमोक्रेटिक उम्मेदवार ट्रोय ज्याक्सनले अनुभवी रिपब्लिकन सिनेटर सुजन कलिन्सलाई पराजित गरेका छन्। मिनेसोटामा पेगी फ्ल्यानेगन पनि सिनेटमा विजयी भएकी छन्। अन्य राज्यमा पनि डेमोक्रेटिक उम्मेदवारहरूले रिपब्लिकनका सिट खोस्दै अग्रता बनाएका छन्।

सिनेटमा बहुमतका लागि डेमोक्रेटलाई चार सिटको खुद लाभ आवश्यक थियो भने प्रतिनिधिसभामा तीन सिट जित्नुपर्ने अवस्था थियो। प्रारम्भिक नतिजाले दुवै सदनमा उनीहरूको पकड बलियो बन्दै गएको देखाएको छ।

निर्वाचनमा महँगी, जीवनयापनको बढ्दो लागत र सरकारी भ्रष्टाचार प्रमुख मुद्दा बनेका थिए। एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट देखिएका छन्। त्यस्तै, १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आर्थिक कठिनाइ भोगिरहेको बताएका छन्।

करिब १० मध्ये छ मतदाताले ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको धारणा व्यक्त गरेका छन्। ट्रम्पले मुद्रास्फीति नियन्त्रणमा आएको दाबी गरे पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशत बढेको थियो।

यसपटक ३६ राज्यमा गभर्नर पदका लागि पनि निर्वाचन भएको थियो। पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कमा डेमोक्रेटिक गभर्नरहरू पुनः निर्वाचित भएका छन्।

कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण कायम भएमा उनीहरूले ट्रम्प प्रशासनका निर्णयमाथि छानबिन र निगरानी बढाउन सक्नेछन्। प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले नियन्त्रण पाए जीवनयापनको लागत घटाउने र प्रशासनमाथि निगरानी बढाउने कार्ययोजना अघि सार्ने बताएका छन्।

यस निर्वाचनलाई ट्रम्पको दोस्रो कार्यकालको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। परिणामले उनको कार्यकालका बाँकी दुई वर्षमा ह्वाइट हाउस र कङ्ग्रेसबीचको शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्नेछ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This