जापानदेखि दुबईसम्म डिडिसीको नाममा नक्कली घिउ बिक्री, कसले गर्‍यो यस्तो ?

डिडिसीको नाममा जापान र दुबईमा नक्कली घिउको धन्दा, मन्त्रालयदेखि भन्सारसम्मकै भूमिका शंकास्पद !



काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को नाम, लोगो र लेबल दुरुपयोग गरी जापान, दुबईलगायतका विदेशी बजारमा नक्कली घिउ बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ। संस्थानले ती बजारमा आफूले घिउ निर्यात नगरेको स्पष्ट पारेपछि डिडिसीको ब्रान्ड प्रयोग गरेर उत्पादित घिउ कसले उत्पादन गर्‍यो, कसरी विदेशी बजारसम्म पुर्‍याइयो र कसको अनुमतिमा बिक्री भइरहेको छ भन्ने विषय थप रहस्यमय बनेको छ।

यसअघि डिडिसीभित्र भएको भनिएको भ्रष्टाचार, किर्ते तथा आर्थिक अनियमितताबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानका आठ कर्मचारीलाई पक्राउ गरिसकेको छ। केही अन्य कर्मचारीसमेत अनुसन्धान तथा निगरानीमा रहेको बताइएको छ। यही पृष्ठभूमिमा संस्थानको ब्रान्ड दुरुपयोग गरी अन्तर्राष्ट्रिय बजारमा नक्कली उत्पादन बिक्री भइरहेको विषयले थप प्रश्नहरु उब्जाएको छ।

जापानका विभिन्न बजारमा डिडिसीको नाममा घिउ बिक्री भइरहेको पाइए पनि संस्थानले जापानमा घिउ नपठाएको जनाएको छ।

जापानमा बिक्री भइरहेको भनिएको घिउमा प्रयोग गरिएको लेबल र डिडिसीको वास्तविक उत्पादनको प्याकेजिङबीच भिन्नता देखिएको छ । डिडिसीको सक्कली घिउको हरियो रङको लोगो तथा प्याकेजिङमा संस्थानको नाम स्पष्ट उल्लेख हुने भए पनि शंकास्पद उत्पादनमा लोगो र लेबलको प्रयोग फरक रहेको छ ।

यस विषयमा नेपाल प्रहरीको सीआईबीमा उजुरीसहित प्रमाणसमेत पेस गरिएको बताइएको छ। जापान र दुबईलगायतका विदेशी बजारमा डिडिसीको नाम तथा लेबल प्रयोग गरी घिउ बिक्री भइरहेको विषयमा अनुसन्धान भइरहेको जनाइए पनि हालसम्म ठोस कारबाही सार्वजनिक नहुँदा अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

यस विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई समेत जानकारी छ। तर, सम्बन्धित निकायबाट प्रभावकारी अनुसन्धान र कारबाही अघि बढेको छैन्। मन्त्रालयमा लामो समयदेखि कार्यरत सचिव मिश्रलाई यस विषयबारे सुरुदेखि नै जानकारी रहेको भए पनि आवश्यक पहल नभएको भन्दै उनको प्रशासनिक जिम्मेवारी र भूमिकामाथि समेत प्रश्न उठेको छ।

भन्सार, क्वारेन्टाइन र गुणस्तर परीक्षण प्रणालीमाथि प्रश्न

नेपालबाट दुग्धजन्य पदार्थ विदेश निर्यात गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आवश्यक गुणस्तर परीक्षण हुनुपर्ने व्यवस्था छ। त्यसका लागि क्रेता र विक्रेताबीचको सम्झौतासहित आवश्यक कागजात पेस गर्नुपर्ने हुन्छ। प्रयोगशाला परीक्षणपछि पशु सेवा विभागअन्तर्गतको क्वारेन्टाइन कार्यालयबाट स्वास्थ्य प्रमाणपत्र जारी हुने र त्यसका आधारमा भन्सार प्रक्रिया पूरा गरेर मात्रै निर्यात गर्नुपर्ने व्यवस्था छ।

तर, डिडिसीको नाम र लोगो दुरुपयोग गरिएको घिउ नेपालबाटै निर्यात भएको हो भने त्यसले खाद्य गुणस्तर परीक्षण, क्वारेन्टाइन तथा भन्सार प्रणालीको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाउँछ। काठमाडौं विमानस्थल भन्सार वा वीरगञ्ज भन्सार हुँदै त्यस्ता उत्पादन विदेश पुगेका हुन् भने तिनको निर्यात अनुमति, अभिलेख र संलग्न पक्षको विवरण सार्वजनिक हुनुपर्ने देखिन्छ।

विशेषगरी उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर तथा आवश्यक विवरण स्पष्ट नभएको उत्पादन विदेशी बजारमा बिक्री तथा निर्यात भएको अवस्थामा त्यसको स्रोत पहिचान गर्नु सम्बन्धित नियामक निकायको दायित्व हो। यदि नक्कली लेबल प्रयोग गरिएका उत्पादन नेपालबाटै पठाइएको पुष्टि भएमा उत्पादक, निर्यातकर्ता, भन्सार तथा क्वारेन्टाइनसँग सम्बन्धित पक्षको भूमिकासमेत निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ।

यसमा सम्बन्धित सरकारी निकायका कर्मचारीको सम्भावित संलग्नता वा मिलेमतोको आशंकासमेत उब्जिएको छ। डिडिसीको नाम र ब्रान्ड दुरुपयोग गरी विदेशी बजारमा नक्कली घिउ बिक्री हुँदा संस्थानको व्यावसायिक प्रतिष्ठा, बजार विश्वसनीयता र आर्थिक अवस्थामा प्रत्यक्ष असर पर्ने संस्थानका कर्मचारीहरु बताउँछन्। ब्रान्ड तथा लोगो दुरुपयोगमा संलग्न व्यक्ति र कम्पनीको पहिचान गरी क्षतिपूर्तिसहित कानुनी कारबाही अघि बढाउनुपर्ने कर्मचारीहरूको माग छ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This