काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नासाका तीन अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाटै मतदान गरेका छन्। उनीहरूले पृथ्वीबाट ४०० किलोमिटरभन्दा बढी उचाइमा रहेर विद्युतीय माध्यमबाट आफ्नो मत दिएका हुन्।
अन्तरिक्ष यात्री अनिल मेननले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूहरूले अन्तरिक्षबाट मतदान गरेको जानकारी दिएका छन्। ‘हो, तपाईं अन्तरिक्षबाट पनि मतदान गर्न सक्नुहुन्छ,’ उनले लेखेका छन्।
मेननका अनुसार स्टेसनमा रहेका तीनै जना टोली सदस्यले विद्युतीय मतपत्र भरेर सम्बन्धित निर्वाचन अधिकारीसमक्ष पठाएका थिए।
नासाको ‘नियर स्पेस नेटवर्क’ मार्फत मतपत्र पृथ्वीमा पठाइएको हो। मतको गोपनीयता कायम राख्न विशेष सङ्केत प्रणालीबाट सुरक्षित गरिएको थियो। सम्बन्धित अन्तरिक्ष यात्री र निर्वाचन अधिकारीले मात्र मतपत्र हेर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।
मेननले आफूले अन्तरिक्ष स्टेसनस्थित आफ्नै कोठालाई मतदान केन्द्रका रूपमा प्रयोग गरी मतदान गरेको भिडियोसमेत सार्वजनिक गरेका छन्। उनले विद्युतीय मतपत्र भरेर टेक्ससको ह्यारिस काउन्टीका निर्वाचन अधिकारीलाई पठाएका थिए।
मेनन गत जुलाई १४ मा रुसी सोयुज अन्तरिक्ष यानमार्फत अन्तरिक्ष स्टेसन पुगेका थिए। उनका सहकर्मी लुक डेलामी र जेसिका वाटकिन्स अक्टोबर १ मा स्पेसएक्स मिसनमार्फत त्यहाँ पुगेका थिए।
अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाका ४३५ सदस्य, सिनेटका ३७ सदस्य, ३६ राज्यका गभर्नर तथा विभिन्न स्थानीय पदका लागि मतदान भएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया