काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कमजोर भएको भन्दै नेतृत्वको आलोचना गर्ने नेताहरूलाई आफ्नै क्षेत्र र वडामा संगठन विस्तार गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले पार्टी निर्माणको जिम्मेवारी नेतृत्वको मात्रै नभई सबै नेता तथा कार्यकर्ताको भएको बताएका हुन् ।

उनले राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई लक्षित गर्दै पार्टी कमजोर हुनुमा नेतृत्वलाई मात्रै दोष दिएर उम्किन नमिल्ने टिप्पणी गरे । थापाले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा राप्रपा नेतृत्वकै कारण पार्टी कमजोर बनेको र स्थानीय तहमा समेत उम्मेदवार पाउन कठिन भएको आरोप लगाउँदै आएका छन् ।

लिङ्देनले आफू पार्टी अध्यक्ष भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा संगठन बलियो बनाउने जिम्मेवारी रहेको स्वीकार गर्दै आलोचना गर्ने नेताहरूलाई पनि आफ्नो ठाउँमा संगठन निर्माण गर्न आग्रह गरे ।

‘मैले आफ्नो ठाउँमा मात्रै संगठन बनाएर राप्रपा बन्यो भन्न मिल्दैन । तर मैले केही गरिनँ भन्ने साथीहरूले आफ्नो ठाउँमा, आफ्नो वडामा संगठन बनाएर देखाउनुस्,’ उनले भने ।

आफू निर्वाचनमा विजयी हुन नसके पनि आफ्नो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त मतभन्दा राप्रपाले बढी मत प्राप्त गरेको उनको दाबी छ । उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा राप्रपाको मत बढी रहेको बताए ।

आफ्नो वडामा करिब ७००, निर्वाचन क्षेत्रमा पाँच हजार र जिल्लाभर झन्डै १० हजार सक्रिय सदस्य रहेको उल्लेख गर्दै लिङ्देनले चुनावमा उम्मेदवार बन्नसमेत नचाहने तर पार्टी कमजोर भएको दोष नेतृत्वलाई दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।

‘आफू चुनावमा भाग्नुपर्ने, उम्मेदवार पनि नबन्ने अनि पार्टी राजेन्द्र लिङ्देनले सक्यो भनेर भन्ने ? अब पार्टी कसले बनाइदिने त ?’ उनले प्रश्न गरे ।

लिङ्देनले चाडपर्व सकिएपछि महाधिवेशन सम्पन्न गरी उच्च मनोबलका साथ देशव्यापी संगठन विस्तार र पार्टी निर्माण अभियानमा जुट्ने पनि बताए ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This