काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयानका लागि बोलाएको छ ।
काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई ब्युरोले फोनमार्फत सम्पर्क गरी उपस्थित हुन भनेको हो । पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा उनलाई बोलाइएको साइबर ब्युरो स्रोतले जनाएको छ ।
ब्युरोमा उपस्थित हुन आफू तयार रहेको बताउँदै शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारको दबाब र भयबाट विचलित नहुने प्रतिक्रिया दिएका छन् ।
‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले लेखेका छन् ।
उनले सरकारले डर र त्रास देखाएर सत्ता सञ्चालन गर्न खोजेको आरोपसमेत लगाएका छन् । आफू काठमाडौं बाहिर रहेकाले फर्किएपछि साइबर ब्युरोमा उपस्थित हुने उनको भनाइ छ ।
केही दिनयता शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारमाथि विधि र विधान मिचेर काम गरेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको आरोप लगाउँदै आएका छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया