काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक विभिन्न संकटबाट गुज्रिरहेका बेला सरकार जनताका समस्या समाधानभन्दा प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनमा केन्द्रित भएको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बाढीपहिरोबाट प्रभावित नागरिक, विस्थापित सुकुम्बासी र महँगीको मारमा परेका जनताको समस्याप्रति सरकार संवेदनशील नदेखिएको टिप्पणी गरेका हुन् ।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण नागरिकले दुःख भोगिरहेको तथा सुकुम्बासीको अवस्था दयनीय बनेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आईजीपी परिवर्तन गर्नु सरकारको प्रमुख प्राथमिकता कसरी बन्यो भन्ने प्रश्न गरेका छन् ।
कार्यकाल अझै १७ महिना बाँकी रहेका प्रहरी महानिरीक्षकलाई हटाउनुपर्ने कारण र त्यसका लागि प्रस्तुत गरिएका तथ्य तथा प्रमाणबारे पनि उनले सरकारसँग जवाफ मागेका छन् ।
आङदेम्बेले आईजीपी हटाउने विषयमा सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको अभिव्यक्तिमा देखिएको विरोधाभासप्रति समेत आपत्ति जनाएका छन् । सरकारका प्रवक्ताले पार्टीको निर्देशनअनुसार हटाइएको बताउने तर रास्वपाका प्रवक्ताले पार्टीको निर्देशन नभएको दाबी गर्ने अवस्थाले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न उब्जाएको उनको भनाइ छ ।
उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंका पनि व्यक्त गरेका छन् । अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा कसरी पुग्यो भन्दै उनले त्यसमा रहेका के विषय हटाउन खोजिएको थियो भन्ने प्रश्न उठाएका छन् ।
जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज जनजीवनको अपेक्षासहित वर्तमान सरकारलाई जिम्मेवारी दिएको स्मरण गराउँदै आङदेम्बेले राज्यशक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया