काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन् ।

आईक्याप एसियाका विभिन्न देशका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । सन् २००० मा स्थापना भएको यस संस्थाले क्षेत्रीय शान्ति, स्थायित्व, लोकतन्त्र, आर्थिक विकास र आपसी समझदारी प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भई साझा चुनौती र क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्छन् ।

कार्यक्रममा सम्बोधन गर्दै चौधरीले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको र विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण र सरकार तथा निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट दक्षिण कोरियाले अर्थतन्त्रमा उल्लेखनीय रूपान्तरण गरेको बताए ।

निजी उद्यमलाई विस्तार, प्रतिस्पर्धा र विश्व बजारमा स्थापित हुन अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको महत्वपूर्ण विशेषता रहेको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीले पुर्‍याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसरलाई स्वीकार गर्दै वर्तमान नेतृत्व र सिंगो पार्टी त्यसलाई सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको बताए ।

खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणको महत्वलाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले लोकतन्त्र र उदार आर्थिक नीतिलाई विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे । नेपालको भावी विकास रणनीति पनि यिनै मान्यतामा आधारित हुनुपर्ने उनको धारणा थियो ।

सम्बोधनका क्रममा चौधरीले पछिल्लो समय नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । युवाको असन्तुष्टि राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने भन्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने समेत बताए । राजनीतिक संस्थाहरूलाई अझ खुला, जवाफदेही र नागरिकका आकांक्षाप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

राजनीतिक नवीकरणसँगै आर्थिक अवसरको विस्तार आवश्यक रहेको उल्लेख गर्दै चौधरीले युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास, प्रविधिको जिम्मेवार प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधनमा अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,’ चौधरीले आफ्नो सम्बोधनमा भने ।

साथै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे चर्चा गर्दै चौधरीले हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए । जलवायु परिवर्तनको असर कुनै एक देशमा सीमित नरहने उल्लेख गर्दै उनले यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको सोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्त्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो ।

एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी महासभाबाट चौधरीको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो । यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन् ।

व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीले स्ट्यान्डिङ कमिटी सदस्यका रूपमा लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक विकास, उद्यमशीलता, युवा आकांक्षा तथा एसियाली राजनीतिक दलहरूबीचको सहकार्यका विषयमा हुने क्षेत्रीय छलफलमा योगदान पुर्‍याउने अवसर प्राप्त गरेका छन् ।

चौधरीको निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई एसियाली राजनीतिक मञ्चमा उठाउने अवसरसमेत प्रदान गर्नेछ ।

विनोद चौधरी नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com