काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुशासन, कानुनी सुधार र विकास निर्माणका क्षेत्रमा अघि बढाएको कामलाई निरन्तरता दिँदै आगामी निर्वाचनमा अझ बलियो जनमतसहित फर्किने दाबी गरेका छन् ।

सरकारले गठन भएको करिब आठ महिनाको अवधिमा गरेका काममा प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्दै उनले यही कार्यशैलीलाई साढे चार वर्षसम्म कायम राख्ने बताएका छन् ।

नेपाल पूर्वाधार सम्मेलनका विषयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले मुलुकमा लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टतन्त्र अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले जुद्धशमशेरपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई तोड्ने दाबीसमेत गरे ।

उनका अनुसार सरकारले अहिले १६६ वटा ऐनमा सुधार तथा संशोधनको काम अघि बढाएको छ । तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा समेटेर अगाडि बढाउने तयारी भइरहेको छ । विगत साढे तीन वर्षमा ३५ वटा मात्रै ऐन निर्माण भएको उल्लेख गर्दै उनले अब कानुनी सुधारको कामले तीव्रता पाउने बताए ।

वाग्लेले पूर्वाधार विकासलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिँदै एकैपटक आठदेखि १० वटा ठूला आयोजना अघि बढाउने तयारी भइरहेको बताए । विकास निर्माणमा सरकारको मात्रै लगानी पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी र सहभागिता विस्तार गर्ने नीति लिइएको उनको भनाइ छ ।

निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले बजेटमार्फत आवश्यक नीतिगत व्यवस्था गरिएको र वैकल्पिक विकास वित्तका कार्यक्रमसमेत कार्यान्वयनमा लैजाने तयारी रहेको उनले बताए ।

सरकारले अघि बढाएको सुशासन अभियानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले प्रतिकूल मौसम र बाढीपहिरोजस्ता चुनौतीका बाबजुद राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको उल्लेख गरे ।

उनले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, कानुनी सुधारलाई गति दिने र पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने कामलाई सरकारले एकसाथ अघि बढाउने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com