काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन् ।
४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोर्चुगलको राष्ट्रिय टोलीसँगको २३ वर्ष लामो यात्रा अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्न सफल छन् ।
संन्यासबारे सार्वजनिक गरेको भिडियोमा रोनाल्डोले पोर्चुगलको सात नम्बर जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनकै ठूलो सौभाग्य र जिम्मेवारी भएको बताएका छन् ।
‘पोर्चुगलका जनताका लागि राष्ट्रिय टोलीको सात नम्बर जर्सी फिर्ता गर्ने समय आएको छ,’ उनले भनेका छन् ।
सन् २००३ को अगस्टबाट सुरु भएको आफ्नो अन्तर्राष्ट्रिय यात्रा सहज नभए पनि यसले जीवन नै परिवर्तन गरेको रोनाल्डोको भनाइ छ ।
यसअघि गत सेप्टेम्बरमा डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा नराखिने जानकारी पाएपछि उनले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए ।
पोर्चुगलले आगामी नोभेम्बरमा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग घरेलु मैदानमा र वेल्ससँग उसकै मैदानमा खेल्ने तालिका छ । ती खेलका लागि पोर्चुगलले शुक्रबार टोली घोषणा गर्ने तयारी गरेको छ ।
रोनाल्डोको घोषणापछि पोर्चुगल फुटबल महासंघले उनको योगदानको सम्मान गर्दै विशेष बिदाइ कार्यक्रम आयोजना गर्ने जनाएको छ । महासंघले २३ वर्षसम्म राष्ट्रिय टोलीका लागि दिएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै समर्थक र देशवासीले उनलाई सम्मानपूर्वक बिदाइ गर्न पाउनुपर्ने बताएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया