एजेन्सी । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका छन् । हत्याको मुद्दामा सुनुवाइका क्रममा बिहीबार बयान दिँदै उनले शयनकक्षको भुईँमा ममतालाई मृत अवस्थामा भेटेपछि शव काटेर टुक्र्याएको बताएका हुन् ।
नरेशविरुद्ध ‘फस्ट–डिग्री मर्डर’, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ ।
अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुईँमा अचेत अवस्थामा फेला पारेको दाबी गरे । उनका अनुसार ममताको मुख र भुईँमा वान्ता देखिएको थियो, जसमा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेषहरू थिए ।
भट्टले अदालतलाई बताएअनुसार उनले श्रीमतीलाई छामेर हेरेका थिए, बोल्ने प्रयास गरेका थिए र सिपिआर लगायतका जीवनरक्षक उपायहरू अपनाएका थिए । तर, त्यसपछि उनले शवलाई टुक्रा–टुक्रा पार्ने निर्णय लिएको र सुरुमा शरीरको तल्लो भाग (खुट्टा) अलग्याउने प्रयास गरेको बयान दिए ।
शवलाई बाथरुममा लगेको तर शारीरिक रूपमा कमजोर महसुस भएकाले पहिलो दिन त्यतिमै रोकेको उनले बताएका छन् । त्यसपछि बच्चाको कपडा फेर्ने स्टेसन (बेबी चेन्जिङ स्टेसन) ले शयनकक्षको ढोका थुनेर उनी आफ्नो नाबालक छोरीलाई स्याहार्न, खुवाउन र सुताउन गएको बयानमा उल्लेख गरेका छन् । उक्त रात आफू सुत्न नसकेको र डर लागेका कारण पूजा कोठामा पनि नगएको उनले अदालतसमक्ष बताए ।
ममता काफ्लेको शव अहिलेसम्म फेला पर्न सकेको छैन । नरेश भट्ट सन् २०२४ अगस्टमा पक्राउ परेयता निरन्तर हिरासतमै छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया