काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । सञ्चारमाध्यमले उठाएका सवालप्रति सरकार गम्भीर र सजग रहेको पनि कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सहसचिव हेमराज अर्याल र प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला निर्णय, कामकारबाही, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयबारे जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै प्रेस विज्ञ दाहालले प्रेस स्वतन्त्रता नेपालको संविधानले सुनिश्चित गरेको अधिकार भएकाले त्यसप्रति सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताइन् ।
‘हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । यो हाम्रो संवैधानिक व्यवस्था पनि हो । सञ्चारमाध्यमले उठाएका हरेक सवालप्रति सरकार सजग छ,’ उनले भनिन् ।
सरकारका कामकारबाही नागरिकसम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दाहालले सञ्चारमाध्यम र सरकारबीचको सहकार्यबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने बताइन् ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारगृहमा पुगेको प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला सरकारको यस्तो धारणा सार्वजनिक भएको हो ।
उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेपछि प्रधानमन्त्री कार्यालयले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको हो ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया