काठमाडौं । नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा प्रकरणलाई जोडेर पार्टी सभापति गगन थापाको छवि बिगार्ने उद्देश्यले नियोजित प्रचार गरिएको आरोप लगाएको छ।
कांग्रेस महामन्त्री डिला संग्रौलाले सभापति थापाविरुद्ध कुनै प्रमाणबिना १८ करोड रुपैयाँको कारोबार भएको भन्ने भाष्य निर्माण गर्न खोजिएको दाबी गरेकी छन्।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले आफ्ना कमजोरी र अक्षमता लुकाउन कांग्रेस र पार्टी सभापतिलाई निशाना बनाएको आरोप लगाइन्।
संग्रौलाका अनुसार सभापति थापाले पत्रकारले समाचार लेखेकै आधारमा बालेन नेतृत्वको सरकारले किन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै प्रश्न उठाएका थिए। सुकुम्बासी, किसान, मजदुर तथा सर्वसाधारणले सुशासनको अनुभूति गर्न नसकेको विषयमा आवाज उठाउँदा कांग्रेसमाथि प्रहार गरिएको उनको भनाइ छ।
उनले कांग्रेस राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रसँग नडराएको उल्लेख गर्दै वर्तमान सरकारसँग पनि नडराउने बताइन्।
देश सामाजिक सञ्जालका स्टाटस, लाइक र कमेन्टका आधारमा नभई संविधान, विधि र कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई कानुनी शासनको मर्यादा पालना गर्न आग्रह गरिन्।
महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि स्पष्ट पारिन्।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया