काठमाडौं । नेपाली कांग्रेसले सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाबारे संसदीय छलफल र छानबिन गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।

समितिमा रहेका कांग्रेसका चार सांसदले समिति सभापति हरि ढकालसमक्ष निवेदन दिँदै अविलम्ब बैठक आह्वान गर्न आग्रह गरेका हुन्।

निवेदन दिनेमा अर्जुननरसिंह केसी, निश्कल राई, भीष्मराज आङदेम्बे र रेखाकुमारी यादव छन्। उनीहरूले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार बैठक बोलाउन माग गरेका हुन्।

कांग्रेस सांसदहरूले राज्यका निकायलाई संसद्प्रति जवाफदेही बनाउन, उनीहरूका कामकारबाहीमाथि निगरानी तथा आवश्यक छानबिन गर्न र उपयुक्त निर्देशन दिन समिति बैठक आवश्यक रहेको बताएका छन्।

विशेषगरी बिचौलिया भनिएका इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग भएको आशंकालाई उनीहरूले गम्भीर रूपमा उठाएका छन्।

त्यस्तै, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडियो अनधिकृत व्यक्तिको पहुँचमा पुगेको घटनाले अनुसन्धानको निष्पक्षता र गोपनीयतामाथि प्रश्न उठेको कांग्रेस सांसदहरूको भनाइ छ।

उनीहरूले यी घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको उल्लेख गर्दै राज्यका निकायहरूको कार्यशैलीबारे समितिले तत्काल छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com