काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले कांग्रेस नेतृत्वमाथि निगरानी राख्नुभन्दा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि छानबिन गर्न राज्य संयन्त्रलाई चुनौती दिएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी हुन पुगेका शिवाकोटीले सभापतिमाथि निगरानी भइरहेको चर्चाप्रति आपत्ति जनाउँदै कांग्रेस नेतृत्वविरुद्ध षड्यन्त्र गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

देशमा कानुनी शासन कायम रहेको भए कांग्रेस नेतृत्वलाई निशाना बनाउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । बाहिर योजनाबद्ध रूपमा परिस्थिति सिर्जना गरी अडियो संवाद रेकर्ड गराउने तथा त्यसलाई आधार बनाएर कांग्रेसविरुद्ध प्रचारबाजी गर्ने गिरोहमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।

‘वास्तवमै कानुनले काम गरिरहेको भए यतिबेला निगरानी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि हुनुपर्थ्यो,’ शिवाकोटीले भने, ‘षड्यन्त्रपूर्वक योजना बनाएर अडियो संवाद रेकर्ड गराउने र कांग्रेस नेतृत्वविरुद्ध प्रचारबाजी गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

सूचना चुहाएको आरोपमा सुरक्षा निकायका प्रमुखदेखि प्रहरी महानिरीक्षकसम्म परिवर्तन हुने अवस्था सिर्जना हुनु तर कथित योजनाकारहरू सत्ताको आडमा सुरक्षित रहनु विडम्बनापूर्ण भएको उनले टिप्पणी गरे ।

कांग्रेसको १५औँ महाधिवेशनपछि जनमत पार्टीको पक्षमा माहोल बन्दै गएको देखेर सरकार आत्तिएको र त्यसकै परिणामस्वरूप पार्टी नेतृत्वमाथि प्रहार सुरु भएको शिवाकोटीको दाबी छ ।

सरकारले शान्त वातावरणलाई अनावश्यक रूपमा उत्तेजित बनाउने काम गरेको आरोप लगाउँदै उनले त्यसको देशभरका कांग्रेस कार्यकर्ताले राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।

यसैबीच, सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले खोजी गरेपछि आफ्नो विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको उनले जानकारी दिए ।

आफूविरुद्ध उजुरी गराएर राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोप लगाउँदै शिवाकोटीले कांग्रेस यस्ता गतिविधिबाट नडराउने बताए । उनले पार्टीले यसविरुद्ध कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com