काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्कँदै गरेको लु २ ख ३७२ नम्बरको बस बिहीबार दिउँसो करिब १ः१५ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी लक्ष्मीप्रसाद पन्थीका अनुसार बसको ब्रेक फेल भएपछि अनियन्त्रित भएको थियो । त्यसक्रममा बसले विपरीत दिशाबाट आइरहेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला बसमा ३० जना यात्रु र मोटरसाइकलमा दुई जना सवार थिए । दुवै सवारीसाधनमा रहेका गरी १६ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको सूचना अधिकारी पन्थीले बताए । अन्य घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको छ ।

घाइते सबैलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बसको ब्रेक फेल हुनुलाई दुर्घटनाको मुख्य कारण मानेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com