दमक । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन् ।

एमाले दमक नगर कमिटीले आयोजना गरेको पार्टी कार्यालय निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने दाताहरूको सम्मान र दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीसहितका राजनीतिक दलले पश्चिमी शक्तिहरूको स्वार्थअनुसार काम गर्न नसकेपछि पार्टी कार्यालय, नेता तथा कार्यकर्ताका घर र भवनमा आगजनी गरी ध्वस्त पारिएको दाबी गरे ।

थापाले इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र अलकायदाका नेता ओसामा बिन लादेनको उदाहरण दिँदै पश्चिमी शक्तिहरूले सुरुमा आफूअनुकूल व्यक्तिलाई अघि बढाउने र पछि आफ्ना स्वार्थमा बाधक बनेपछि समाप्त पार्ने गरेको आरोप लगाए । नेपालमा पनि त्यस्तै परिस्थिति दोहोरिन सक्ने उनको तर्क थियो ।

कार्यक्रम एमाले दमक नगर अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी कार्यालय स्थापनाका लागि सहयोग गर्ने दाता तथा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालय पुनर्निर्माणमा योगदान पुर्‍याउने दाता, नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

दमक–९ स्थित पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दीपा दाहाल बराललाई पनि प्रमुख अतिथि थापाले सम्मान गरेका थिए ।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण एवं पुनर्निर्माण समितिका संयोजक अम्बिका खनालले पार्टी कार्यालय पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com