काठमाडौं । नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सङ्घीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको सहमहामन्त्री स्नेहीले बताए। प्रभावित बस्तीको स्थलगत अवलोकन र अन्तरक्रियापछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने थप कदम तय गरिने उनले जानकारी दिए।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहकार्य, सहयोग र सहजीकरणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com