काठमाडौं । पराग्वेका राष्ट्रपति स्यान्टियागो पेनालाई महाभियोग लगाएर पदबाट हटाइएको छ। पदमुक्त भएको केही मिनेटमै उनलाई गिरफ्तार गरी नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
शुक्रबार आफ्नै दलका केही सांसदसहित संसद्का बहुमत सदस्यले उनलाई पदबाट हटाउने पक्षमा मतदान गरेका थिए। पेनाले त्यसअघि नै बिहीबार पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए। तर, सांसदहरूले राजीनामा स्वीकार गर्नुको सट्टा महाभियोग प्रक्रिया अघि बढाएर उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
यस घटनाको मुख्य कारण यसै साता डिजिटल बैंक युनो बैंक बन्द भएपछि उत्पन्न वित्तीय संकटलाई मानिएको छ। बैंक बन्द भएपछि र पराग्वेको केन्द्रीय बैंकले नियन्त्रणमा लिएपछि देशको आधाभन्दा बढी जनसङ्ख्या आफ्नो निक्षेप रकम निकाल्न नसक्ने अवस्थामा पुगेको समाचारमा उल्लेख छ।
पेना यसअघि युनो बैंकको स्वामित्व रहेको कम्पनीका सेयरधनी थिए। उनले गत वर्षसम्म उक्त कम्पनीको सेयर राखेका थिए। यद्यपि, आफू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको उनले दाबी गर्दै आएका छन्।
महाभियोग प्रस्तावमा पेनामाथि स्वार्थको द्वन्द्व सिर्जना हुने गरी काम गरेको, बैंकको नियामकीय निगरानी प्रक्रियामा हस्तक्षेप गरेको, पेन्सन कोषको रकम अन्यत्र प्रयोग गरेको तथा केन्द्रीय बैंकसँग सम्बन्धित विषयमा संस्थागत रूपमा तथ्य लुकाउन खोजेको आरोप लगाइएको छ।
महाभियोगबाट पदमुक्त भएसँगै उनले पूर्वराष्ट्रपतिका रूपमा पाउने कानुनी उन्मुक्ति तथा सिनेटको आजीवन सदस्यता पनि गुमाएको समाचारमा जनाइएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया