काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न निर्देशन दिने आवाज सुनेको दाबी गरेका एक भेनेजुएलाका नागरिक ह्वाइट हाउस नजिकैबाट पक्राउ परेका छन्।

अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) का अधिकारीहरूले उनको गाडीमा तीनवटा बन्दुक र दर्जनौँ गोली फेला पारेपछि पक्राउ गरेका हुन्।

अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार बिहीबार राति वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै पार्क गरिएको एउटा गाडीमा ती व्यक्ति शङ्कास्पद अवस्थामा भेटिएका थिए। अधिकारीहरूले सोधपुछ गर्दा उनले आफ्नो टाउकोभित्रबाट केही आवाज सुनिएको र ती आवाजले राष्ट्रपति ट्रम्पको हत्या गर्न निर्देशन दिएको बताएका थिए।

पक्राउ पर्ने व्यक्ति रोनी योर्डिक्स गुआनिपा क्रिनोस रहेको अधिकारीहरूले जनाएका छन्। अनुसन्धानका क्रममा उनले प्रयोग गरेको गाडी चोरी भएको उजुरीसमेत परेको खुलेको छ। गाडी खानतलासी गर्दा तीनवटा बन्दुक र ठूलो परिमाणमा गोली बरामद भएको थियो।

अधिकारीहरूका अनुसार क्रिनोस भेनेजुएलाका नागरिक हुन्। उनी सन् २०२४ मार्चमा टेक्सासको बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। उनीमाथि विभिन्न आरोप लगाइएको छ। हाल उनलाई अमेरिकी मार्शल सेवाको हिरासतमा राखिएको छ।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले समयमै सतर्कता अपनाएर सम्भावित जोखिम टारेको भन्दै गोप्य सेवा अधिकारीहरूको प्रशंसा गरेका छन्।

‘गाडीमा तीनवटा बन्दुक बोकेर हिँडेका ती व्यक्तिलाई कसैलाई हानि पुर्‍याउनुअघि नै ह्वाइट हाउस नजिकै पक्राउ गर्न सफल भएका अधिकारीहरूलाई धन्यवाद,’ उनले भने।

यस घटनाबारे ह्वाइट हाउसले भने छुट्टै प्रतिक्रिया दिएको छैन। घटनाको थप विवरणका लागि गृह सुरक्षा मन्त्रालय र गोप्य सेवासँग सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com