काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही २०० करोड भारतीय रुपैयाँको कथित ठगी तथा जबर्जस्ती असुली प्रकरणमा बयान दिन दिल्लीस्थित राउज एभिन्यू अदालत पुगेकी छन्। शुक्रबार अदालतमा उपस्थित भएकी उनले ठगीका मुख्य आरोपित सुकेश चन्द्रशेखरसँग आफ्नो भेट र कुराकानी भएको प्रसंग खुलाएकी छन्।

यस मुद्दामा नोरा अभियुक्त नभई अभियोजन पक्षकी साक्षी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अदालतमा बयान दिँदै उनले सन् २०२० मा चेन्नईमा आयोजित एक परोपकारी कार्यक्रममा सुकेशकी पत्नी लीना मारिया पलसँग पहिलो भेट भएको बताइन्।

एक्सिड इन्टरटेनमेन्ट नामक एजेन्सीमार्फत आफूलाई उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नृत्य प्रतियोगिताको निर्णायकका रूपमा निमन्त्रणा गरिएको नोराले बताएकी छन्।

उनका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्। सोही क्रममा लीनाले आफ्ना पति सुकेशले नोरासँग कुरा गर्न चाहेको बताउँदै फोनमा सम्पर्क गराएकी थिइन्।

स्पिकरमा भएको कुराकानीमा सुकेशले चेन्नई आएकोमा धन्यवाद दिँदै आफ्नो परिवार नोराको प्रशंसक रहेको बताएका थिए। भविष्यमा पनि विभिन्न कार्यक्रममा सँगै काम गर्न सकिने प्रस्ताव उनले राखेको नोराले अदालतलाई जानकारी दिएकी छन्।

त्यसक्रममा लीनाले नोरालाई कार उपहार दिने प्रस्ताव राखेकी थिइन्। सुकेशले पनि उक्त उपहार स्वीकार गर्न आग्रह गरेको नोराको बयान छ।

क्यानडाकी नागरिक रहेकी नोरा कामका लागि भिसा लिएर भारत आएको र आफ्ना कार्यक्रमको बुकिङ तथा पारिश्रमिकसम्बन्धी सम्पूर्ण व्यवस्थापन कम्पनीमार्फत हुने गरेको पनि अदालतमा बताएकी छन्।

सुकेश चन्द्रशेखरमाथि औषधि कम्पनी र्यानब्याक्सीका पूर्वप्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहबाट सरकारी अधिकारीको नाम प्रयोग गरी करिब २०० करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप छ।

अनुसन्धान एजेन्सीका अनुसार सुकेशले जेलभित्रैबाट सरकारी अधिकारी बनेर फोन गर्दै शिविन्दरलाई जेलबाट छुटाउन सक्ने आश्वासन दिएका थिए। सन् २०२० देखि २०२१ सम्म विभिन्न किस्तामा उक्त रकम असुलिएको आरोप छ।

यस प्रकरणमा सुकेशकी पत्नी लीना मारिया पलसहित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भएको थियो। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको नामसमेत यस प्रकरणमा जोडिएको छ। उनी प्रवर्तन निर्देशनालयले दायर गरेको मुद्दामा अभियुक्तका रूपमा रहेकी छन्।

यसअघि अदालतमा उपस्थित नभएपछि नोराप्रति असन्तुष्टि जनाएको अदालतले उनलाई बयानका लागि उपस्थित हुन भनेको थियो। शुक्रबार उपस्थित भएर बयान दिएकी उनको मुद्दामा अर्को सुनुवाइ नोभेम्बर ३० मा हुने बताइएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com