काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सरकारको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने पत्रकारहरूमाथि टिप्पणी गरेका छन्। निष्पक्ष पत्रकारिता गर्ने सञ्चारकर्मीले अध्यादेश रोकिदिन राष्ट्रपतिसमक्ष पुगेर विन्ती गर्नुपर्ने अवस्था नरहेको उनको दाबी छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खत्रीले वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायत पत्रकारले प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने ठानेका छन् कि छैनन् भन्ने प्रश्न उठाएका छन्।

उनले पत्रकारिताको आवरणमा राजनीतिक पक्षधरता प्रस्तुत गर्ने प्रवृत्तिको आलोचना गर्दै राष्ट्रपतिसमक्ष अध्यादेश रोक्न गरिएको आग्रहप्रति असन्तुष्टि जनाएका हुन्।

‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्ने अनि राष्ट्रपतिलाई भेटेर अध्यादेश रोकिदिन विन्ती गर्ने? निष्पक्ष पत्रकारिता गर्नेहरूलाई राष्ट्रपति कहाँ पुगेर अध्यादेश रोकिदिन विन्ती गर्नै परेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

खत्रीले प्रस्तावित अध्यादेश राष्ट्रपतिले रोक्ने अधिकार संविधानको कुन धारामा व्यवस्था गरिएको छ भन्दै प्रश्नसमेत गरेका छन्। राष्ट्रपतिसमक्ष गरिएको आग्रहलाई उनले समग्र पत्रकारिता क्षेत्रको आवाज नभई सञ्चार क्षेत्रभित्रको विकृतिको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।

‘त्यसैले यो विन्ती देशको चौथो अंगले गरेको होइन, अंगमा लागेको ऐँजेरुले हो। जहाँ शल्यक्रियाको आवश्यकता छ,’ उनले लेखेका छन्।

उनले सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउने प्रयासलाई निरंकुशताको संज्ञा दिनु तथा न्यायाधीशहरूको सम्पत्ति छानबिनको विषयलाई लोकतन्त्रमाथिको खतराका रूपमा प्रस्तुत गर्नु विरोधाभासपूर्ण रहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com