काठमाडौं । गृहमन्त्री सुदन गुरुङ गृहजिल्लामा आयोजित आफ्नै पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमको मञ्च छाडेर हिँडेका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित कार्यक्रममा शुभकामना दिन पुगेका गृहमन्त्री गुरुङ औपचारिक मञ्च र परम्परागत शैलीप्रति असन्तुष्टि जनाउँदै भाषण नै नगरी बाहिरिएका हुन्।

कार्यक्रमस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मञ्चमा बसेर औपचारिकता निभाउने परम्परागत राजनीतिक सोच बदल्नुपर्ने बताए।

‘यसरी गरेर शुभकामना आदानप्रदान कसरी हुन्छ ? पहिला जस्तो ट्रेडिसनल हिसाबले अगाडि राखेर, दुईटा शब्द बोलाएर, मन्त्रीलाई ल्याएर आएर,’ उनले भने, ‘आफ्नो मतदातासँग त, उहाँहरूसँग त म नितान्त रूपमा चुनावमा खटेका मान्छेहरू हुन्। उहाँहरूसँग त भेटघाट गरेर, आफैँले हात मिलाएर यसरी शुभकामना आदानप्रदान गर्ने हो नि त ! नकि स्टेजमा राखेर एउटा शब्द बोलाएर।’

उनले नेताहरू स्टेजमा बसेर भाषण ठोक्ने र जनता सुन्ने पुरानो परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए।

‘यो ट्रेडिसनल माइन्डसेट चेन्ज हुनुपर्‍यो क्या हाम्रो, मेन कुरा चाहिँ,’ गृहमन्त्री गुरुङले भने, ‘उहाँहरू मेरो परिवारजस्तै हो, सबै जनालाई मैले भेट्नुपर्छ, समस्या सुन्नुपर्छ। भाषणले मात्रै देश बन्ने भए त भाषणले देश धेरै अगाडि पुगिसक्थ्यो।’

दीपावलीको अवसरमा आफ्ना मतदाता र कार्यकर्तासँग प्रत्यक्ष भेट्न र गुनासो सुन्न चाहेको भए पनि आयोजकले मञ्चमा राखेर औपचारिकतामा सीमित गर्न खोजेपछि आफू त्यहाँबाट हिँडेको उनले स्पष्ट पारेका छन्।

मञ्च छाडेपछि उनले हलमै उपस्थित कार्यकर्ताहरूसँग हात मिलाउँदै शुभकामना साटासाट गरेका थिए।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com