काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवनहरूबाट मानिसहरू आत्तिएर बाहिर निस्कने क्रममा कम्तीमा २२ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा गएको भूकम्पको केन्द्र सिजुओका प्रान्तको पश्चिमी क्षेत्रमा जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । भूकम्पको सबैभन्दा तीव्र धक्का छिमेकी आइची प्रान्तमा महसुस गरिएको थियो ।
भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने विभिन्न भवनभित्रका सामान खसेर क्षति पुगेको छ । जापानी सञ्चारमाध्यमका अनुसार अचानक आएको धक्काबाट आत्तिएका मानिसहरू बाहिरिने क्रममा सिँढीबाट लडेर तथा ठोक्किएर घाइते भएका हुन् ।
सिजुओका र आइचीसहित हमामात्सु, क्योटो, नारा, यामानासी र गिफु क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । त्यस क्षेत्रमा केही साना परकम्पसमेत गएका छन् ।
भूकम्पपछि सावधानी अपनाउँदै प्रभावित क्षेत्रमा बुलेट ट्रेनसहित केही रेल सेवाको गति घटाइएको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको भन्दै सुनामी चेतावनी जारी गरिएको थिएन ।
जापानको मौसम विज्ञान निकायले आगामी एक सातासम्म शक्तिशाली भूकम्प आउन सक्ने सम्भावनाप्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ । विशेषगरी आगामी दुईदेखि तीन दिनसम्म थप शक्तिशाली धक्का आउन सक्ने भएकाले पहिरो, ढुंगा खस्ने तथा वर्षाका कारण निम्तिन सक्ने जोखिमबाट सतर्क रहन भनिएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया