काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयासबाट विचलित नभई पार्टीलाई नयाँ आत्मविश्वासका साथ अघि बढाउने बताएका छन् ।
तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले पार्टीसामु विभिन्न चुनौती रहे पनि सत्य, निष्ठा र एकताका बलमा तिनको सामना गर्ने बताएका हुन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले महाधिवेशनमा सहभागी भएर सहयोग गर्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
कांग्रेसले आफ्नो इतिहासका कठिन मोडहरूमा पनि सदस्य, शुभेच्छुक र आम नागरिकको साथ, विश्वास र संघर्षका आधारमा चुनौती पार गर्दै आएको उनले स्मरण गराएका छन् ।
थापाले अब पार्टीको मुख्य लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न केन्द्रित हुने बताएका छन् । त्यसका लागि पार्टी संगठन सुदृढ बनाउने, नागरिकको विश्वास पुनः आर्जन गर्ने र देशको उज्ज्वल भविष्य निर्माणमा सम्पूर्ण शक्ति लगाउने उनको प्रतिबद्धता छ ।
उनले पार्टीका आधिकारिक सूचना, धारणा र गतिविधिबारे जानकारी लिन कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पृष्ठ मात्र पछ्याउन पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया