नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।
आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक २४ वर्षीय लोकेश भण्डारी गम्भीर घाइते भएका थिए ।
डडेलधुराको अजयमेरु गाउँपालिका–१ निवासी भण्डारीलाई तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा प्रहरी जवानका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न लु ३ त ३६३३ नम्बरको ट्र्याक्टर र चालक कावासोती नगरपालिका–१३ निवासी ३२ वर्षीय लोकबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया