काठमाडौं । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार कालिकोटबाट बिरामीलाई अक्सिजनसहित थप उपचारका लागि सुर्खेत लैजाने क्रममा गाडी दुर्घटनामा परेको थियो। उक्त गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए।

दुर्घटनामा चालक सिंखडासहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की रहेका छन्। कैसी बिरामी हुन्।

प्रहरीका अनुसार चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com