काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाउने काम भइरहेको छ। सडक डिभिजन भरतपुरले थप पहिरो नखसेमा करिब तीन घण्टाभित्र सडकमा दुईतर्फी यातायात सञ्चालन हुने अनुमान गरेको छ।
सडक अवरोध हटाउन हाल तीनवटा मेसिन परिचालन गरिएको छ भने थप दुईवटा मेसिन परिचालन गर्ने तयारी भइरहेको सडक डिभिजनले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसनका अनुसार सोमबार बिहान खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार राति करिब ३ बजे पहिरो खसेको थियो।
सडक अवरुद्ध भएपछि मुग्लिन हुँदै काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।
पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक विभाग र सुरक्षाकर्मीको टोली निरन्तर खटिएको छ। थप पहिरो खसेमा सडक खुलाउन थप समय लाग्न सक्ने भएकाले तीन घण्टाभित्र यातायात सुचारु हुने अनुमान सम्भावित अवस्थाका आधारमा गरिएको हो।
प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया