काठमाडौं । गृह मन्त्रालयले तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई पत्राचार गर्दै देउसी–भैलो कार्यक्रम सञ्चालनका लागि कुनै समयसीमा नतोक्न र २४ सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार जारी परिपत्रमा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावलाई प्रोत्साहन गर्दै तिहार हर्षोल्लासपूर्वक मनाउन आग्रह गरिएको छ।
निर्देशनअनुसार देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न पाइने छैन। त्यस्तै, चाडपर्वको नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गतिविधि रोक्न भनिएको छ।
मन्त्रालयले अश्लील नृत्य तथा गीतसङ्गीत प्रस्तुत गर्न र विभिन्न समुदायबीच द्वेष फैलाउने गतिविधि गर्न नदिन पनि निर्देशन दिएको छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न तथा सार्वजनिक र निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न पनि स्थानीय प्रशासनलाई आग्रह गरिएको छ।
मन्त्रालयले सांस्कृतिक परम्पराको संरक्षणसँगै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै तिहार मनाउने वातावरण बनाउन निर्देशन दिएको हो।
प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार












प्रतिक्रिया