काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध सैन्य रूपमा लगभग अन्त्य भइसकेको दाबी गरेका छन्। तत्कालका लागि अमेरिकाले हालको अवस्था कायम राख्ने नीति लिएको उल्लेख गर्दै उनले परिस्थिति फेरिए अमेरिकी सेना पुनः सैन्य कारबाहीमा उत्रिन तयार रहेको चेतावनी दिएका छन्।
सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य शक्ति र नेतृत्वलाई ठूलो क्षति पुर्याइएको दाबी गरे। यद्यपि, इरानको परमाणु कार्यक्रमलाई दीर्घकालसम्म अघि बढ्न नदिने सुनिश्चितताका लागि अमेरिकाले प्रयास जारी राखेको उनको भनाइ थियो।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटपछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन्। भेटवार्ता सकिएलगत्तै उनी ह्वाइट हाउसको ब्रिफिङ कक्षमा पुगेर पत्रकारहरूसँग कुराकानी गरेका थिए।
यसअघि आइतबार सीएनएनसँगको टेलिफोन अन्तर्वार्तामा पनि ट्रम्पले इरानसँगको वार्तामा सकारात्मक प्रगति भए सैन्य आक्रमणको सम्भावना न्यून हुने बताएका थिए। तेहरानले अमेरिकासँग बलियो सम्झौता गरे पुनः आक्रमण गर्नुपर्ने अवस्था नआउने उनको सङ्केत थियो।
पछिल्लो एक सातामै इरानमाथि दुई सैन्य कारबाही
युद्ध अन्त्यको सङ्केत गरिरहेका ट्रम्पकै कार्यकालमा अमेरिकी सेनाले भने पछिल्लो एक साताभित्र इरानमाथि कम्तीमा दुईपटक सीमित सैन्य आक्रमण गरेको छ। ती कारबाहीमा इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्ष्य बनाइएको बताइएको छ।
यसैगरी, शनिबार अमेरिकी सेनाले इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको आरोपमा एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय बनाएको थियो।
निर्वाचनमा युद्धको असर, ट्रम्पमाथि दबाब
इरानसँगको युद्ध अमेरिकी आन्तरिक राजनीतिमा समेत प्रभाव पार्ने मुद्दा बनेको छ। गत साता सम्पन्न मध्यावधि निर्वाचनमा ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ।
निर्वाचनका क्रममा इरानसँगको युद्धप्रति अमेरिकी नागरिकको असन्तुष्टि पनि प्रमुख राजनीतिक मुद्दाका रूपमा उठेको थियो। आठ महिनादेखि जारी युद्धका कारण इन्धनको मूल्य बढ्नुका साथै अमेरिकी अर्थतन्त्र र अन्तर्राष्ट्रिय बजारसमेत प्रभावित भएका छन्।
युद्ध अन्त्य भए ४८ घण्टामै होर्मुज खुला गर्ने इरानको प्रस्ताव
यता इरानले भने अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गरे ४८ घण्टाभित्र होर्मुज जलमार्ग खुला गर्ने प्रस्ताव अघि सारेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्दै अमेरिकाले पहिले इरानका सर्त स्वीकार गर्नुपर्ने बताएका छन्। अन्यथा आफ्नो देश जवाफी कारबाहीका लागि तयार रहेको उनको चेतावनी छ।
इरानले सैन्य क्षमता थप मजबुत बनाएको, विगतका कमजोरी सुधार गरेको र नयाँ हतियार परीक्षणसमेत गरिसकेको दाबी गर्दै अराघचीले आफ्नो सेना सबै परिस्थितिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्।
विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये पर्ने होर्मुज जलमार्गबाट ठूलो परिमाणमा कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी हुने गर्छ। यस क्षेत्रमा जहाजको आवागमन अवरुद्ध हुँदा विश्व बजारमा इन्धन आपूर्ति प्रभावित हुनुका साथै मूल्यवृद्धिको जोखिम बढ्ने गर्छ।
अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो द्वन्द्व
इरानले परमाणु हतियार निर्माण गरिरहेको आरोप लगाउँदै अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले पनि प्रत्याक्रमण गरेपछि द्वन्द्व व्यापक युद्धमा परिणत भएको थियो।
अप्रिलको सुरुवातमा दुवै पक्षबीच युद्धविराम भए पनि त्यो लामो समय टिक्न सकेन। जुन महिनामा पुनः युद्धविराम र द्वन्द्व अन्त्य गर्ने विषयमा सहमति भएको थियो। तर, अगस्टमा उक्त सहमति पनि भङ्ग भएपछि क्षेत्रीय तनाव फेरि चुलिएको थियो।
हाल अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक संवाद जारी छ। वार्तामा इरानको परमाणु कार्यक्रम, होर्मुज जलमार्ग सञ्चालन र समग्र युद्ध अन्त्य गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया