काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने, सार्वजनिक संरचनामा आगजनी गर्ने र विध्वंस मच्चाउने व्यक्तिहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू नेपाली समाजकै बदनाम पात्र भएको टिप्पणी गर्दै उनले उनीहरूलाई ‘नेपालीका नामका कलंक’ भनेका छन्।

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

उनले पछिल्लो समय देशमा लुटपाट, आगजनी र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले अन्तर्राष्ट्रिय स्तरमै नेपालीको प्रतिष्ठामा आँच पुर्‍याएको बताए।

भाटभटेनीका २१ वटा संरचनामा लुटपाट र आगजनी भएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अर्काको सम्पत्ति लुटेर भाग्ने प्रवृत्तिप्रति आक्रोश पोखे।

‘नेपाली जाति आज विश्वभर कति बदनाम भयो हेर्नुस् त ! २१ वटा भाटभटेनी लुटिए, आगो लगाइए। नेपालीहरूलाई लाज हुनुपर्दैन अर्काको सम्पत्ति लुटेर काँधमा बोकेर गुडुडुडु कुदेर भाग्न ? छ्या छ्या छ्या, ती नेपालीका नामका कलंक हुन्,’ उनले भने।

ओलीले नागरिकलाई राष्ट्रिय सम्पत्ति जलाउन र झुट बोल्न प्रेरित गरिएको आरोपसमेत लगाए। समाजमा सांस्कृतिक मूल्य, मान्यता र भावनात्मक एकता कमजोर हुँदै जाँदा गलत प्रवृत्तिले प्रश्रय पाएको उनको भनाइ थियो।

‘आगो लगाउन र राष्ट्रिय सम्पत्ति जलाउन ट्रेनिङ दिइयो,’ उनले भने, ‘राम्रो घर देख्नै नहुने, आगो लगाइदिने र अर्काको सम्पत्ति लुट्नेतिर मान्छे किन गयो ? किनभने हाम्रो सांस्कृतिक भावना कमजोर भयो।’
विकासका लागि निर्माण गरिएका संरचना भत्काउने, झुटको खेती गर्ने र सिर्जनाभन्दा विनाशलाई प्राथमिकता दिने प्रवृत्ति समाजमा स्थापित गर्न खोजिएको पनि ओलीले आरोप लगाए।

मानिसहरूलाई सत्य र रचनात्मक कामतर्फ प्रेरित गर्नुको सट्टा विध्वंसका गतिविधिमा उक्साइएको उनको दाबी थियो।
चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा धेरै अप्रिय विषय नउठाउने उल्लेख गर्दै ओलीले उपस्थित सबैलाई तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना दिएका थिए।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com