कसैले त्यसलाई देख्दैन। कसैले टिप्दैन। कसैले सोध्दैन। र कसैलाई एक रती चासो छैन, यो ठुटो यहाँसम्म कसरी आइपुग्यो ??

“धुवाँ उडाउँदै सुरु भएको कथा मेरो,

खैरो खरानीमा आएर टुंगियो।

खुट्टाले कुल्चिएर बाटोको धुलोमा

यसरी मिसाइदियो

यसरी मिसाइदियो

यसरी मिसाइदियो । ”

सायद मानिसहरूको कथा पनि यस्तै हुन्छ।

मान्छेले चुरोट तानिरहेको हुन्छ, तर वास्तवमा उसले के तानिरहेको हुन्छ त?

सायद केही मिनेटको विश्राम या सायद आफूभित्रको कोलाहलबाट भाग्ने एउटा बहाना। सायद कसैलाई नभनेको कुरा पनि हुन सक्छ वा सायद केवल अर्को एउटा दिन काट्ने बहाना।

चुरोटको पहिलो सर्को र अन्तिम सर्को बीचको दूरी धेरै लामो हुँदैन। तर त्यही छोटो दूरीमा मानिसले आफ्नो एउटा साँझ, एउटा चिन्ता, एउटा सम्झना वा एउटा मौनता राखेको हुन सक्छ।

अनि अन्त्यमा बाँकी रहन्छ, चुरोटको ठुटा।

ठुटा अनौठो वस्तु हो।

त्यसमा अब आगो हुँदैन, तर आगोको इतिहास हुन्छ।

धुवाँ हुँदैन, तर धुवाँको गन्ध हुन्छ।

स्वाद हुँदैन, तर ओठको स्पर्शको प्रमाण हुन्छ।

जिन्दगी हुँदैन, तर केही समयअघि जिन्दगी थियो भन्ने प्रमाण हुन्छ।

सायद यही कारणले मलाई चुरोटका ठुटा मानिसजस्तै लाग्छन्।

मान्छे पनि त यही होइन र?

हिजो कसैको आवश्यकता थियो।

आज कसैको प्राथमिकतामा छैन।

हिजो कसैले समातेर राखेको थियो।

आज कसैले बाटोमा फालिदिएको छ।

हिजो कसैको कुराकानीको केन्द्र थियो।

आज कसैको नजरमा पनि पर्दैन।

तर फालिएको वस्तुको, इतिहास फालिँदैन।

शहरमा हिँड्दा हामी कति कुरा कुल्चिन्छौँ। चुरोटका ठुटा, प्लास्टिकका टुक्रा, कागजका चिर्कटा, सुकिसकेका पात…र कहिलेकाहीँ मानिसहरूका सपना पनि। हामीलाई सडक सफा चाहिन्छ, तर समाज किन सफा चाहिँदैन?

हामी धुवाँ मन पराउँदैनौँ, तर धुवाँ निकाल्ने परिस्थितिबारे कुरा गर्न किन चाहँदैनौँ। हामी चुरोट पिउने मानिसलाई हेरेर “खराब बानी” भन्छौँ। तर कति पटक हामीले सोचेकै छैनौं त्यो बानीभन्दा अगाडि उसको जीवनमा के थियो?

सायद ऋण थियो।

सायद बेरोजगारी थियो।

सायद प्रेम टुटेको थियो।

सायद घरमा कसैले उसको कुरा सुन्दैनथ्यो।

सायद ऊ दिनभरि सबैका लागि बलियो बनेर साँझमा आफूलाई सम्हाल्न सकिरहेको थिएन।

वा सायद ऊ केवल चुरोट पिउन चाहन्थ्यो। सबै कथाको पछाडि गहिरो दर्शन हुन्छ भन्ने पनि त छैन।

मलाई लाग्छ, चुरोटका ठुटाहरू शहरका सबैभन्दा इमानदार डायरी हुन्। बोल्दैनन्, तर धेरै कुरा भन्छन्। कुनै चिया पसलअगाडि तीनवटा ठुटा छन् भने त्यहाँ तीन जना मानिस थिए भन्ने हुन सक्छ।

कुनै कार्यालयको भर्‍याङमुनि एकपछि अर्को ठुटा छन् भने त्यहाँ कामभन्दा बढी तनाव जम्मा भएको हुन सक्छ। कुनै अस्पतालबाहिर भेटिएको ठुटाले प्रतीक्षाको कथा बोकेको हुन सक्छ। कुनै बसपार्कको कुनामा भेटिएको ठुटाले यात्राको।

कुनै नदीको किनारमा भेटिएको ठुटाले एकान्तको। र कुनै रात सुनसान सडकमा एक्लै परेको ठुटाले, कसैको नबोलेको कुराको।

हाम्रो दैनिक जीवन पनि चुरोटजस्तै हुँदै गएको छ। बिहान आँखा खुल्छ। अलार्म बन्द गर्छौँ।

हतारिन्छौँ।

काममा जान्छौँ।

ट्राफिकमा अड्किन्छौँ।

कसैको फोन उठाउन सक्दैनौँ।

कसैको कुराको जवाफ दिन पनि भ्याउँदैनौँ।

खाना खान्छौँ, तर स्वाद थाहा हुँदैन।

हाँस्छौँ, तर कारण सम्झिँदैनौँ।

घर फर्किन्छौँ।

थाक्छौँ।

मोबाइल स्क्रोल गर्छौँ।

अरूको सजाइएको जीवन हेर्छौँ।

आफ्नो अस्तव्यस्त जीवनसँग तुलना गर्छौँ।

र फेरि भोलिका लागि अलार्म लगाउँछौँ।

कति नै फरक छ र?

चुरोट बिस्तारै बल्छ।

मान्छे बिस्तारै थाक्छ।

चुरोट खरानी हुन्छ।

मान्छेको उमेर घट्छ।

चुरोटको धुवाँ हावामा हराउँछ।

मान्छेको दिन समयमै हराउँछ।

अन्ततः दुवैको बाँकी रहने कुरा

एउटा अवशेष।

ठुटोको प्रश्न

तर चुरोटको ठुटा केवल अन्त्यको प्रतीक होइन नि। त्यसमा एउटा प्रश्न पनि छ।

हामी किन आफूलाई यति धेरै जलाएर मात्र अरूलाई उज्यालो देखाउन खोज्छौँ?

किन आफ्नो थकानलाई “म ठीक छु” भनेर लुकाउँछौं ?

किन दुःखलाई मजाकमा बदल्छौँ?

किन रुनुपर्ने बेला व्यस्त हुन्छौँ?

किन कसैलाई “तिमी ठीक छौ?” भनेर सोध्नुभन्दा “काम भयो?” भनेर सोध्न सजिलो लाग्छ हामीलाई?

सायद आधुनिक जीवनको सबैभन्दा ठूलो व्यङ्ग्य यही हो। हामीसँग एकअर्कालाई अनलाइन देख्ने समय छ, तर एकअर्कालाई साँच्चिकै हेर्ने समय छैन।

अधुरोपन

चुरोटको ठुटा पनि एक प्रकारको अधुरोपन नै हो। पूरै चुरोट तर पूर्ण रूपमा समाप्त नभएको। बीचमा अड्किएको। मानिसहरू पनि ठ्याक्कै त्यस्तै हुन्छन्।

न त पुरानो जीवनमा फर्किन सक्छन्,

न नयाँ जीवन सुरु गर्न सक्छन्।

न सम्बन्धमा छन्,

न सम्बन्धबाट बाहिर जान सक्छन्।

न खुसी नै छन्,

न दुःखी हुने फुर्सद छ।

न हार स्वीकार गरेका छन्,

न जित्ने ऊर्जा नै बाँकी छ।

उनीहरू पनि कतै फुटपाथको कुनामा परेको चुरोटको ठुटाजस्तै हुन्छन्, कसैले कुल्चिदिन्छ, कि कसैको प्रतिक्षामा समयले आफैँ मेटाइदिन्छ।

तर एउटा कुरा फरक छ। चुरोटको ठुटालाई फेरि चुरोट बनाउन सकिँदैन,…….मानिसलाई सकिन्छ। मानिस फालिएपछि पनि उठ्न सक्छ। टुटेपछि पनि जोडिन सक्छ। थाकेर बसेपछि फेरि हिँड्न सक्छ।

कहिलेकाहीँ जीवनले हामीलाई ठुटाजस्तो बनाउँछ। जलाएको, गन्हाएको, थाकेको, बेवास्ता गरिएको। तर त्यो हाम्रो अन्तिम परिचय होइन। हामीले आफूलाई कसरी हेर्छौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। समाजले फालिदिएको नाम र आफूले आफैँलाई दिएको अर्थ एउटै हुनुपर्दैन।

सायद त्यसैले अर्को पटक सडकमा चुरोटको ठुटा देख्दा त्यसलाई केवल फोहोर नसम्झौँ।

फोहोर हो, त्यो पनि सत्य हो।

तर त्यो कुनै समय कसैको औँलाबीच थियो।

कसैको ओठमा थियो।

कुनै कुराकानीको बीचमा थियो।

कुनै चिन्ताको साथी थियो।

कुनै रातको मौन साक्षी थियो।

कुनै निर्णयअघि बलिरहेको थियो।

कुनै निर्णयपछि निभेको हुन सक्छ।

र अन्ततः सडकमा आइपुग्यो।

मानिस पनि बेलाबेला त्यही गर्छ। आफ्नो सम्पूर्ण अस्तित्व अरूको आवश्यकतामा बाल्छ। धुवाँ बनेर हराउँछ। र जब उसको उपयोग सकिन्छ, समाज उसलाई पनि बाटोको किनारमा टपक्क टिपेर राखिदिन्छ।

ठुटोको ज्ञान

जलेको हुनु भनेको समाप्त भएको हुनु होइन। खरानीभित्र पनि कथाहरू बाँकी नै हुन्छन्। कहिलेकाहीँ अन्त्यजस्तो देखिएको ठाउँबाट पनि अर्थ सुरु हुन सक्छ। र कहिलेकाहीँ बाटोमा कुल्चिएको एउटा सानो ठुटाले हामीलाई आफैँतिर फर्केर हेर्न बाध्य बनाउँछ।

हामी सबैसँग आफ्ना-आफ्ना धुवाँ छन्। कसैको धुवाँ आँखाले देखिन्छ। कसैको धुवाँ मुस्कानभित्र लुकेको हुन्छ। कसैको धुवाँ व्यस्ततामा। कसैको धुवाँ मौनतामा। कसैको धुवाँ रातभरि जाग्राम बसेको मोबाइलको स्क्रिनमा। र कसैको धुवाँ केवल एउटा वाक्यमा। “म ठीक छु।” जबकि ऊ ठीक हुँदैन।

भोलि फेरि कुनै सडकमा चुरोटको ठुटा भेटिएला। सायद त्यसलाई कसैले खुट्टाले कुल्चिएला। सायद पानीले बगाउला। सायद सफाइ गर्ने मानिसले कुचो लगाएर फालिदेला। तर त्यसअघि एकछिन सोचौँ न, हामी पनि त आफ्ना दिनहरूलाई त्यसरी नै फालिरहेका छैनौँ?

आजको रिस,

आजको प्रेम,

आजको थकान,

आजको भेट,

आजको हाँसो,

आजको मान्छे…हमम

सबैलाई “भोलि” भन्दै जम्मा गर्दै जाँदा कतै हाम्रो जीवन नै चुरोटको ठुटाजस्तो बाँकी नहोस्। किनकि चुरोट सकिएपछि ठुटा बाँकी रहन्छ। तर जीवन सकिएपछि ठुटा पनि बाँकी रहँदैन।

त्यसैले सायद प्रश्न चुरोटको होइन। प्रश्न यो हो हामी जलिरहेको समयमा के बनाउँदैछौँ? धुवाँ? खरानी? कि कसैको अँध्यारोमा केही बेरको उज्यालो???

लेखक :- विजय चापागाईं

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com