मुगु । मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोरुकोटबाट भैलो खेल्ने टोली लिएर तारापानीतर्फ जाँदै गरेको बा.१८ च ४१८ नम्बरको जीप बुधबार दिउँसो करिब १२ः५० बजे दुर्घटनामा परेको हो। प्रहरीका अनुसार अचानक ब्रेक फेल भएपछि जीप सडकको भित्तामा ठोक्किएको थियो। दुर्घटनाका बेला चालकसहित १२ जना सवार थिए।
दुर्घटनामा चालकसमेत रहेका खत्याड गाउँपालिका–७ का २९ वर्षीय उपेन्द्र परियार घाइते भएका छन्। उनको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ।
त्यस्तै, सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडीको टाउको र निधारमा गम्भीर चोट लागेको छ। अन्य घाइतेमा १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी र १९ वर्षीय अन्तिम योगी रहेका छन्। उनीहरूलाई क्रमशः कुम र छाती, कम्मर र छाती तथा टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।
उद्धार गरिएका पाँचै जनालाई थप उपचारका लागि सोरु गाउँपालिका–६ सिपस्थित जिमा स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया