झापा । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले गौरादह जेसीजले आयोजना गरेको ‘जेसीज देउसी–भैलो प्रतियोगिता–२०८३’ को उपाधि शिवसताक्षीस्थित मेची बोर्डिङ स्कुलले जितेको छ।

जेसीज सप्ताहको समापन तथा दीपावलीको अवसरमा सोमबार गौरादह नगरपालिका–१ स्थित गौरादह बजारमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट मौलिक प्रस्तुति दिँदै मेची बोर्डिङ स्कुल प्रथम भएको हो।

प्रतियोगितामा दुर्गा भजन कीर्तन मण्डली द्वितीय र गौरादह नगरपालिका–४ को मझुवा देउसी समूह तृतीय भए। प्रथम स्थान हासिल गरेको मेची बोर्डिङ स्कुलले ५१ हजार १५१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। त्यस्तै, द्वितीय भएको दुर्गा भजन कीर्तन मण्डलीले २५ हजार ५२५ रुपैयाँ र तृतीय भएको मझुवा देउसी समूहले ११ हजार १११ रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा गौरादह, दमक र शिवसताक्षी नगरपालिकाका साथै कमल, गौरीगञ्ज र कचनकवल गाउँपालिकालगायत झापाका विभिन्न स्थानबाट देउसी–भैलो समूह सहभागी भए। सहभागी टोलीहरूले नेपाली मौलिकता र सांस्कृतिक पहिचान झल्किने प्रस्तुति दिएका थिए।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, मौलिक सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा सामाजिक सद्भाव र आपसी भाइचारा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

गौरादह जेसीजका अध्यक्ष ध्रुवचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख छत्रपति सुवेदी प्रमुख अतिथि थिए। नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी, गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारी तथा विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा सिस्नुपानी नेपालका अध्यक्ष एवं व्यङ्ग्यकार लक्ष्मण गाम्नागे, साहित्यकार तथा सञ्चारकर्मी चन्द्र भण्डारी र दमकस्थित बिहानी कला केन्द्रकी प्रमुख एवं सङ्गीतकार कमला खनाल (बराल) थिए।

गौरादह जेसीजका सांस्कृतिक संयोजक सौरभ भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रममा जेसीज सप्ताहकी मूल संयोजक एन्जिला पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रम सञ्चालन गौरादह जेसीजका पूर्वअध्यक्ष खड्गबहादुर थापा र साहित्यकार दीपक सुवेदीले संयुक्त रूपमा गरेका थिए।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com