काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले विगतका गतिविधिसम्बन्धी भिडियो सार्वजनिक गरेर भइरहेको आलोचनाप्रति आपत्ति जनाएकी छन्। उनले आफू राजनीतिमा व्यक्तिगत स्वार्थ पूरा गर्न नआएको भन्दै आलोचनाबाट विचलित नहुने बताएकी छन्।

केही दिनयता आफ्ना पुराना भिडियोहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा आएपछि तामाङले फेसबुकमार्फत प्रतिक्रिया दिएकी हुन्।

उनका अनुसार करिब ११ महिनाअघि उनी कुनै राजनीतिक दलकी कार्यकर्ता नभई सचेत नागरिकका रूपमा सामाजिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। त्यतिबेला सामान्य नागरिकदेखि मन्त्रीसम्मका गलत गतिविधिको विरोध गर्दा जनताले साथ दिएको उनको भनाइ छ। तर अहिले जनप्रतिनिधि बनेपछि तिनै पुराना भिडियोहरूलाई तोडमोड गरेर आलोचना गरिएको उनले आरोप लगाएकी छन्।

उनले केही सञ्चारमाध्यम र राजनीतिक वृत्तप्रति व्यङ्ग्य गर्दै ‘१२ भाइ, २८ भाइ तथा केही बेरोजगार माननीयहरू’ भन्दै टिप्पणी गरेकी छन्। कतिपय सांसद आफ्नो हिसाबकिताब खोज्दै चार्टर्ड एकाउन्टेन्ट (सीए) जस्तो बन्न थालेको आरोप पनि उनले लगाएकी छन्।

भिडियोका साना क्लिप काटेर प्रचार गर्दैमा आफू पछि नहट्ने बताउँदै तामाङले भनिन्, ‘मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु– म यहाँ राजनीति गर्न आएकी होइन । न त मलाई राजनीतिको रोटी सेकेर आफ्नो स्वार्थ पूरा गर्नु छ।’

आलोचकहरूलाई चुनौती दिँदै उनले किस्ता–किस्तामा भिडियो सार्वजनिक गरेर स्पष्टीकरण मागिरहनुभन्दा विगतमा लाखौँ भ्युज पाएका आफ्ना सबै भिडियो एकैपटक सार्वजनिक गर्नसमेत आग्रह गरेकी छन्।

पछिल्लो समय तामाङका विगतका गतिविधि र कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com