जनकपुरधाम । धनुषाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। कात्तिक ७ देखि २४ गतेसम्म गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १०९, भारतीय रुपैयाँ ३ हजार ५००, तासका गड्डी, मोबाइल फोन तथा दुईवटा सवारीसाधन बरामद गरिएको छ।
प्रहरीले जनकनन्दनी गाउँपालिका–२ बल्हा, जनकपुरधामको बसपार्क, काली होटल, साजन टेन्ट हाउस र सिटी होटलमा छापा मारेको थियो। पक्राउ पर्नेमा धनुषासहित महोत्तरी र सर्लाहीका बासिन्दा पनि छन्।
प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कात्तिक ७ गते बल्हाबाट सात जना, कात्तिक १९ गते बसपार्कबाट दुई जना, कात्तिक २१ गते काली होटलबाट पाँच जना, कात्तिक २३ गते साजन टेन्ट हाउसबाट १८ जना र कात्तिक २४ गते सिटी होटलबाट पाँच जना पक्राउ परेका हुन्।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई छुटाउन टायर बालेर प्रदर्शन
साजन टेन्ट हाउसबाट पक्राउ परेकालाई रिहा गर्नुपर्ने माग गर्दै स्थानीय तथा आफन्तले विरोध प्रदर्शन गरेका छन्। कात्तिक २३ गते पक्राउ परेकाहरूलाई छोड्न दबाब दिने उद्देश्यले मंगलबार साँझ जनकपुरधाम–९ स्थित थापाचोकमा टायर बालेर प्रदर्शन गरिएको प्रहरीले जनाएको छ।
प्रदर्शनका क्रममा केही समय सडक आवागमनसमेत अवरुद्ध भएको थियो। प्रहरी प्रवक्ता खनालले पक्राउ परेकालाई रिहा गर्न दबाब दिने उद्देश्यले स्थानीय र परिवारजन आन्दोलनमा उत्रिएको बताए।
प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया