काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई स्तब्ध बनाएको लामिछानेले बताएका छन्।

सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरेका छन्।

उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले दुर्घटनामा घाइते भएका सबैको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com