काठमाडौं । सरकारविरुद्ध विपक्षी दलहरूको मोर्चाबन्दी र सडक आन्दोलनको चर्चा भइरहे पनि अहिलेसम्म साझा रणनीति र ठोस कार्यक्रम बन्न सकेको छैन। नेकपा (एमाले)ले आवश्यक परे सरकारविरुद्ध आन्दोलनमा उत्रिन तयार रहेको जनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तत्काल आन्दोलनमा जाने पक्षमा देखिएको छैन।

पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारपछि सडक आन्दोलनका लागि तयारी अवस्थामा रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए। तर, दुवै दलका आ–आफ्नै कार्यक्रम र संगठनात्मक गतिविधिका कारण सरकारविरुद्ध साझा मोर्चा बनाउने विषयमा ठोस छलफल हुन सकेको छैन।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका साथै सरकारका गलत गतिविधिविरुद्ध आन्दोलन गर्न पार्टी मानसिक रूपमा तयार रहेको बताएका छन्।

संविधान निर्माणको पक्षमा रहेका राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने नीति रहेको उल्लेख गर्दै उनले आवश्यक परे सडक आन्दोलनमा जाने तयारी रहेको बताए। यस विषयमा एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच प्रत्यक्ष वा परोक्ष रूपमा संवाद भइरहेको उनको भनाइ छ।

तर, तत्कालै आन्दोलन वा मोर्चाबन्दी गर्ने विषयमा भने निर्णय भइनसकेको आचार्यले स्पष्ट पारे। मंसिर २ र ३ गते हुने एमालेको राष्ट्रिय कार्यकर्ता भेलापछि मात्रै आगामी रणनीतिबारे ठोस योजना बन्ने उनले बताए।

कांग्रेससँग पनि सहकार्य खोज्दै एमाले

सरकारविरुद्ध दबाब सिर्जना गर्न एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना खोजिरहेको छ। गत कात्तिक १७ गते कांग्रेस सभापति गगन थापा एमाले अध्यक्ष ओलीलाई भेट्न गुन्डु पुगेका थिए।

तर एमाले प्रचार विभाग प्रमुख आचार्यले उक्त भेटमा मधेस प्रदेश सरकार गठनको विषयमा मात्रै छलफल भएको दाबी गरेका छन्। विपक्षी दलबीच आन्दोलनमा सहकार्य गर्ने वा साझा राजनीतिक एजेन्डा बनाउने विषयमा कुराकानी नभएको उनको भनाइ छ।

नेकपा तत्काल आन्दोलनमा जाने तयारीमा छैन

यता नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले राष्ट्रिय मुद्दामा एमाले, कांग्रेसलगायत राजनीतिक शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति भए पनि तत्काल सरकारविरुद्ध आन्दोलनमा जाने तयारी नरहेको बताएका छन्।

उनका अनुसार नेकपा अहिले राष्ट्रिय जागरण अभियानमार्फत गाउँगाउँमा संगठन विस्तार, सदस्यता नवीकरण र जनभेटघाटमा केन्द्रित छ। छठपछि अभियानलाई थप तीव्रता दिँदै प्रशिक्षण, भेला र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने उनले बताए।

ज्वालाले मंसिर २५ गते राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि केन्द्रीय संयोजन समितिको बैठक बस्ने र त्यसपछि केन्द्रीय कार्यसमितिले आगामी कार्यक्रमबारे निर्णय गर्ने जानकारी दिए।

उनले संविधान, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका साथै सरकारका गतिविधिविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने पनि बताए। राष्ट्रिय मुद्दामा एमालेसहित सबै पक्षसँग सहकार्य गर्न पार्टी तयार रहेको उनको भनाइ छ।

प्रचण्डको आन्दोलन चेतावनी, ओलीको तयारी निर्देशन

नेकपा संयोजक प्रचण्डले वर्तमान सरकार राष्ट्रियता, सामाजिक न्याय, आर्थिक समृद्धि र जनजीविकाका सवालमा अनुदार बन्दै गएको आरोप लगाउँदै दसैँ, तिहार र छठपछि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिँदै आएका थिए।

गत असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा उनले सरकार गठन भएको छ महिनामै अलोकप्रिय बन्दै गएको निष्कर्ष सुनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहका एकलौटी निर्णयका कारण सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै असन्तुष्टि बढेको उनको विश्लेषण थियो।

उक्त बैठकले सरकारका गतिविधिको विरोध गर्दै संगठन सुदृढीकरण गर्ने उद्देश्यले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

उता एमाले अध्यक्ष ओलीले पनि सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।

तर, प्रदेशमा एमालेसँग सत्ता सहकार्य गरिरहेको नेकपा भने तत्काल आन्दोलनमा जानेभन्दा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेपछि मात्रै आगामी कदम तय गर्ने रणनीतिमा देखिएको छ। यसले सरकारविरुद्ध विपक्षी दलहरूको सम्भावित मोर्चाबन्दीको समय र स्वरूप अझै अनिश्चित रहेको देखाउँछ।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com