काठमाडौं । मोरङको केराबारी गाउँपालिका-२ फैबास्थित जंगलमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्दाजी ३१-३२ वर्षीया पार्वती लिम्बूको शव उनको घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ भेटिएको हो।
स्थानीय बासिन्दाले जंगलभित्र महिलाको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालले मृतक लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको र शरीरमा तत्काल बाहिरी चोटपटक भने नदेखिएको जानकारी दिएका छन्। प्रारम्भिक सोधपुछका क्रममा विवाहित लिम्बूको पति-पत्नीबीच यसअघि पनि पटक-पटक विवाद तथा झैझगडा हुने गरेको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका छन्।
घटनाको यथार्थ कारण हालसम्म खुल्न सकेको छैन। मृत्युको कारण पत्ता लगाउन र घटनाको गहिरो रूपमा छानबिन गर्न फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीलाई घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया