काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्षको उमेरमा पनि अर्को आन्दोलन र विद्रोहको तयारीमा रहेको बताएका छन्।

बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार थप स्थापित गर्न र संविधानलाई परिमार्जन गर्न नयाँ आन्दोलन आवश्यक रहेको बताए। उमेर बढे पनि आफ्नो क्रान्तिकारी विचार कमजोर नभएको उनको दाबी छ।

‘भौतिक उमेरको हिसाबले म ७२ कटेर अब ७३ टेक्दै छु, तर विचारको हिसाबले म अर्को एउटा विद्रोह र आन्दोलनको तयारीमा छु, यो कुरा बुझिराख्नुहोला,’ उनले भने।

उनले कठिन परिस्थितिबाट आत्तिन नहुने भन्दै रातपछि दिन आउने यथार्थलाई आत्मसात् गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रचण्डले वर्तमान विश्व परिवेश, दक्षिण एसिया र नेपालको अवस्थाअनुसार नयाँ आन्दोलनको आवश्यकता रहेको औँल्याए। पार्टी अहिले राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको उल्लेख गर्दै उनले अभियानपछि देशव्यापी आन्दोलन अघि बढाउने बताए।

‘यो जागरण अभियानपछि देशमा फेरि नयाँ किसिमको आन्दोलन आवश्यक छ र हामी त्यही प्रक्रियामा छौँ,’ उनले भने, ‘जनतालाई मुक्त गर्ने, संविधानलाई परिमार्जन र परिष्कृत गर्ने तथा जनताको अधिकारलाई नयाँ उचाइमा उठाउने आन्दोलनको तयारीमा म छु।’

पार्टीभित्र निराशा र नकारात्मकता बढेकोप्रति असन्तुष्टि जनाउँदै उनले कम्युनिस्ट आन्दोलन आशावादी हुनुपर्ने धारणा राखे। मार्क्सवादले निराशा र अन्धकारभन्दा आशा, उज्यालो र सकारात्मकतालाई प्राथमिकता दिने उनको भनाइ थियो।

नेता तथा कार्यकर्ताले आफूहरू निराशाको पक्षमा उभिने कि आशावादिताको पक्षमा भन्ने स्पष्ट पार्नुपर्ने उनले बताए।

कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र पेरिस कम्युनको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले विचार सही भए क्रान्ति सम्भव हुने धारणा राखे।

कलामार्फत जनयुद्धबारे विमर्श सुरु गरेकोमा कलाकारहरूलाई धन्यवाद दिँदै उनले सहिदका सपना र क्रान्तिको संकल्पलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com