काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट ३ हजार १६४ जना नेता तथा प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ।
भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले तयारी तीव्र पारेको छ। यसैक्रममा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट आउने प्रतिनिधिको सहभागिता, व्यवस्थापन र कार्यक्रम सञ्चालनबारे समीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।
पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा धारणा निर्माण गर्दै संगठनलाई स्थानीय निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
संगठन विभाग प्रमुख ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश तथा प्रवासी संगठनका प्रतिनिधि, ४४० जना जिल्ला तहका र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलाका लागि सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार र स्वयंसेवक परिचालनलगायतका काम अघि बढाइएको एमालेले जनाएको छ। यातायात व्यवस्थापन सहज बनाउन सहभागीलाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न पनि आग्रह गरिएको छ।
एमालेले भेलामार्फत संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया