काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारका गतिविधि नसच्चिए नेतृत्वले हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिवाकोटीले सरकार लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न केन्द्रित भएको आरोप लगाए।

लोकतन्त्र निर्वाचनबाट जनप्रतिनिधि चयन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने भन्दै उनले विधि, पद्धति र संस्थागत स्वतन्त्रताको सम्मान पनि उत्तिकै आवश्यक रहेको बताए।

उनका अनुसार राज्यका निकाय, संवैधानिक अंग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढेको छ। कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिइएको र त्रासपूर्ण अवस्थामा काम गर्न बाध्य पारिएको उनको आरोप छ।

दुई तिहाइ नजिकको बहुमतसहित सरकारमा पुगे पनि आफ्नै राजनीतिक भार सम्हाल्न नसकेको टिप्पणी गर्दै शिवाकोटीले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको बताए।

‘रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘सरकारलाई आफ्नै पार्टीले सहयोग गरिरहेको छैन भन्ने आधारमा त्यहाँभित्र यो पक्ष र त्यो पक्ष भन्ने अवस्था सिर्जना भएको छ।’

सरकारमाथि उठेका प्रश्नबाट ध्यान मोड्न बालुवाटार र ज्वागलबाट प्रचार अभियान सञ्चालन भइरहेको आरोपसमेत उनले लगाए। प्रधानमन्त्री, उनका निकट व्यक्तिहरू र प्रमुख सल्लाहकारमार्फत भइरहेको भनिएको प्रचारले लोकतन्त्रलाई बलियो बनाउने काम नगरेको उनको दाबी छ।

सरकारले आफ्ना कमजोरीमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा कांग्रेसलाई लक्षित गरेर घेराबन्दी र बदनाम गर्ने प्रयास गरिरहेको शिवाकोटीको आरोप छ। विगतमा आफूसँगै काम गरेका व्यक्तिहरूलाई प्रयोग गरेर कांग्रेसलाई क्षति पुर्‍याउन खोजिएको पनि उनले बताए।

कांग्रेसले सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नीति लिएको स्पष्ट पार्दै उनले सरकारलाई आफ्ना गतिविधि सच्याउन आग्रह गरे।

भदौ २४ को घटनालाई स्मरण गराउँदै उनले अहिले पनि देशको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको बताए। सरकारका गतिविधि नसच्चिए असन्तुष्टि कुनै पनि बेला भुसको आगोझैँ फैलिन सक्ने र त्यसले आन्दोलन वा विद्रोहको रूप लिन सक्ने उनको चेतावनी थियो।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com