काठमाडौं । कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित नौरङ्गम होटल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन्। उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूको साथबाट चितुवाको एउटा छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले चितुवाको छालासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया